१० भदौ २०८३, बुधबार 1787749100
समाचार

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरेका छौँ : ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् ।

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उनले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्न नीतिगत सुधार गरिएको बताएका हुन् ।

“निजी क्षेत्रलाई सधैँ साथमा लिएर हिँड्नुपर्छ भन्ने बुझेको पार्टी कांग्रेस हो, यसका लागि थुप्रै नीतिगत सुधार भएका छन्, निजी क्षेत्र इमान्दारीका साथ राजस्व तिर्न तयार हुनुपर्छ”, उनले भने ।

ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताए । “मुलुकलाई सङ्कट परेका बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिहास छ, मुलुकको आर्थिक विकासका लागि वर्तमान सरकार निर्माण भएको हो”, उनले भने । उनले विद्युत् उत्पादन बढेको र उत्पादनको भार थाम्न नसकेर ट्रान्सफर्मरको संरचना पुनःनिर्माण गर्दा केही समय बत्ती जाने गरेको बताए । विद्युत्भार कटौती भने अब नहुने उनको भनाइ थियो ।