५ आश्विन २०८३, सोमबार 1789997713
Banner

बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ–अध्यक्षओली

काठमाडौँ, २१ भदौ प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धिमा कोशी प्रदेशका मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्ने बताउनुभएको छ । ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशनतर्फ गइरहेको कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहान हरिसिद्धि माविअगाडि जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको थियो । सवारी दुर्घटनाकै कारण विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम एक घण्टा ढिलो सुरु भएको छ । सोही क्रममा प्रधानमन्त्री ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिनुभयो । उहाँले बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नूभयो । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोज्न नहुने उहाँको भनाइ छ । “सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन् । तर, भइदियो,” उहाँले भन्नुभयो । ओलीले भन्नुभयो, “भवितव्य घटना भएको हो । त्यस्तो क्षति पनि भएको छैन । यसमा हामी पनि दुःखी भएका छौँ र बच्चीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” ।