काठमाडौँ : शनिबार रूसको कामचटकाको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षणले यो जानकारी दिएको छ। यहाँ सुनामीको चेतावनी जारी गरिएको छ।
भूकम्प कामचटकाको प्रशासनिक केन्द्र पेट्रोपाभ्लोभ्स्क-कामचत्स्कीबाट १११ किलोमिटर (६९ माइल) पूर्वमा ३९.५ किलोमिटर गहिराइमा गएको थियो। अहिलेसम्म कुनै हताहतको रिपोर्ट आएको छैन।
सर्वेक्षणले सुरुमा भूकम्पको म्याग्निच्युड ७.५ रहेको बताएको थियो, तर पछि यसलाई ७.४ मा परिमार्जन गरिएको थियो। प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायरा भित्र खतरनाक छालहरू रूसको तटमा ठोक्किन सक्ने बताएको छ।
जुलाईको सुरुमा, कामचटकाको तटमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जुन २०११ पछिको सबैभन्दा ठूलो भूकम्प थियो।


