काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई ४१ क्षेत्रीय सभापतिले वर्तमान परिस्थिति चिर्दै अगाडि बढ्न नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न सुझाएका छन् । भर्चुअलमा पौडेलले वर्तमान अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर ४१ क्षेत्रीय सभापतिसँग कुराकानी गरेका थिए । त्यो कुराकानीमा नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तनको पक्षमा लाग्न क्षेत्रीय सभापतिहरूले सुझाएको पौडेलले जानकारी दिए । केहीले भने नियमित महाधिवेशन हुने सम्भावना नभएकाले विशेष महाधिवेशनमा जानुपर्ने बताएको पौडेलले जानकारी दिए ।
पौडेलले अबको केही समय निरन्तर सुझाव सङ्कलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने बताए । नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रूपान्तरण आवश्यक रहेको बताएका पौडेलको भनाइ छ । आफूले कसरी र कस्तो रूपान्तरण आवश्यक हो भनेर अन्तर्क्रिया गर्दा त्यस्तो धारणा आएको उनको भनाइ छ ।


