१० श्रावण २०८३, आइतबार 1785128344
Banner

देशभर दुई दिन थप सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ । 

मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र अझै असोज २० गतेसम्म तीव्र वर्षा जारी रहने पूर्वानुमान भएकाले बाढी, डुबान, भूक्षय र सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको छ। त्यस्ता सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।  दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ।’