७ जेष्ठ २०८३, बिहिबार 1779428252
फिचर

फूलखतीमा रमाउँदै भक्तपुरका महिला

भक्तपुर, ३० असोज : मखमली र सयपत्री फूलले ढकमक्क बनेको बारीको पाटोदेखि धान फल्ने खेतका गह्राहरूमा बिहानीको पारिलो घामको न्यानोमा भक्तपुरका महिलाहरूलाई फूल टिप्न भ्याइनभ्याई छ । बिहान उठेर फूल टिपेर घरमा पुग्न नपाई पाकेको खाना खाएर फेरि आँगन र पिढीँको डिलमा बस्दै महिलाहरू सियो धागो मिलाउँदै त्यही फूलका माला गाँस्न अभ्यस्त देखिन्छन् ।

दाङको घोराही उपमहानगरपालिका–३ स्थित झिङनीमा सयपत्री फूलको रस चुस्दै पुतली । तस्बिर : कुलदीप न्यौपाने / रासस
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका महिलाहरु मखमली फूलको माला गाँस्दै । तिहार नजिकिँदै गर्दा मखमली फूलको व्यापार बढेको छ । तस्बिर ः रमेश गिरी / रासस

गाँसेका मालालाई लहरै झुण्ड्याएर राख्न, ढकमक्क फुलेका सयपत्रीलाई मुठा पारेर बजार पु¥याउने काममा परिवारका अन्य सदस्यहरू पनि उत्तिकै ब्यस्त देखिन्छन् । कोही फूल र माला लिन आएका व्यापारीसँग आफ्नै आँगनमा बसेर मोलतोल गरिरहेका हुन्छन् । तिहार नजिकिएसँगै सूर्यविनायक नगरपालिका–७ गुण्डुको प्रत्येक घरआँगनमा अचेल देखिने दृश्य हो यो ।

भक्तपुरकै पुरानो बस्ती चाँगुनारायण नगरपालिका–९ ताथलीका बनमाला समुदायले केही वर्र्षौंदेखि व्यावसायिक रुपमा मखमलीको फूलखेती गर्दै आएको छ । यहाँका बनमाला समुदायले एक सय वर्षदेखि नै मखमली फूलको खेती गर्दै तिहारमा स्थानीयस्तरदेखि भक्तपुरको बजारसम्म पु¥याएर आर्थिक उपार्जन गर्दै आएको छ । यस पेशा आजसम्म पनि पुस्तान्तरण हुँदै आएपछि ताथलीका बनमाला समुदायले फूलखेतीलाई निरन्तरता दिदै आएका छन् भने राम्रो आम्दानी हुन थालेपछि यहाँका अन्य समुदाय एवं जातजातिले पनि केही वर्षदेखि व्यावसायिक रुपमा मखमलीको फूलखेती गर्दै आएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुका महिलाहरु मखमली फूलको माला गाँस्दै । तिहार नजिकिँदै गर्दा मखमली फूलको व्यापार बढेको छ । तस्बिर ः रमेश गिरी / रासस

त्यस्तै भक्तपुरको गुण्डुमा पछिल्लो चार दशकदेखि भित्रिएको फूलखेती अहिले व्यावसायिक रुपमा परिणत हुँदै करोडौंको फूल तथा माला बिक्री हुन थालेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्वर्गीय पहलमान नगरकोटीले करिब ४० वर्ष अगाडि मखमली फूलको व्यावसायिक खेती सुरु गरेको बताउनुहुन्छ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा । उहाँले सुरु गर्नुभएको फूलखेती अहिले व्यावसायिक फूलखेती गर्ने नमूना वडाको पहिचान बन्दै फूलको राजधानीको रुपमा परिचित भएको सापकोटा बताउनुहुन्छ ।

तिहार नजिकिदै गएपछि भक्तपुरको गुण्डुमा मखमली फूलको माला गाँस्दै स्थानीय । स्थानीयले एउटा माला रु ६० देखि रु १०० सम्ममा बिक्री गर्ने गरेका छन् । तस्बिर : रमेश गिरी / रासस

स्वर्गीय नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमान्ले ४० वर्ष अगाडि असनका व्यवसायीका सल्लाहमा मखमलीको खेती सुरु गरेको बताउनुहुन्छ । अहिले पुस्तान्तरण हुँदै उहाँको छोरी उर्मिला नगरकोटी र तीन छोरा मदनकृष्ण, कविराज पनि सयपत्री, मखमली मात्रै नभई विभिन्न जातका फूलखेती गर्नमा व्यस्त छन् ।

गुण्डुमा फूलखेती भित्र्याउने नगरकाटीले ४० वर्ष अगाडि भक्तपुरदेखि काठमाडौँका पशुपति, चावहिल, असन, इन्द्रचोकलगायतका बजारमा फूल बिक्री गर्न लैजाँदा त्यहाँका व्यापारीले आफ्नो बजारमा प्रतिस्पर्धा गर्न आएको भन्दै लखेट्ने गरेको तीतो अनुभव सुनाएको उहाँका छोरा कविराज बताउनुहुन्छ । त्यतिबेला बजारमा अरु व्यापारीसँग लुकेरै भए पनि एउटा माला एक सुकामा बिक्री गरेको रकमले १० जनाको परिवारको खर्च टार्नुपर्ने बाध्यता रहेको थियो । अहिले त्यही व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ भने छोराहरूले फूलसँगै असनमै अन्य व्यवसाय पनि गर्दै आएका छन् ।

गाउँका अरुका माला पनि बजार पुर्याउने स्व.नगरकोटीले स्थानीयलाई फूलको बेर्ना राख्ने, स्याहार्ने, फूल टिप्नेदेखि खेती गर्न सिकाएको स्मरण गर्दै उहाँकी छोरी उर्मिलाले आफ्नो घरबाट सुरु भएको खेती अहिले गुण्डुमा मुख्य व्यावसायिक खेतीको रुपमा विकास भएको देख्दा खुसी लागेको बताउनुहुन्छ । यहाँ महिलाले आफ्नै पेवा आम्दानीको रुपमा समेत फूल खेती गर्दा उनीहरूको राम्रो आम्दानीको स्रोत समेत बनेको छ ।

वडास्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्षसमेत रहेकी उर्मिला यतिखेर यहाँका महिलालाई खर्चका लागि छोरा वा श्रीमानको आशामा गर्नुपर्ने अबस्था नरहेको, चाँडबाडलगायत घरखर्चमा पनि टेवा पुगेको बताउनुहुन्छ । घरखर्चका लागि ऋण समेत नपत्याउनेहरू फूलखेतीबाटै बुबाले तीन–चार लाख रुपैयाँसम्म कमाउन थालेपछि जीवनस्तरमा उल्लेख्य सुधार आएको उहाँ बताउनुहुन्छ । फागुनमा बेर्ना राखि चैत्रमा रोपेको मखमली असारदेखि निरन्तर चार महिनासम्म टिपेर मखमलीको माला गाँसी वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन् ।

पुष्प व्यवसायी भन्छन्– मूल्यमा एकरुपता आवश्यक

स्थानीय पुष्प व्यवसायी एवं राष्ट्रिय कृषक समूह महासङ्घकी केन्द्रीय उपाध्यक्ष अनिता बस्नेतले यसवर्ष आफूले लगाएको फूलखेतीबाट तीन लाखको फूल बिक्री गरेको बताउनुहुन्छ । आधा रोपनी जग्गामा मखमली र अढाई रोपनी जग्गामा सयपत्री फूलको खेती गरेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘स्थानीय महिलाहरूले उत्पादन गरेका फूललाई बजारीकरणको प्रबन्ध मिलाइएको छ । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’’ असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको उहाँको भनाइ छ ।

असारदेखि मङ्सिरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशमा बिक्री गर्ने गरेको बताउनुहुन्छ । सयपत्री फूल पनि असार–साउनदेखि फुल्ने गर्छ । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु १५ देखि रु २० सम्ममा बिक्री हुने गरेको बस्नेत बताउनुहुन्छ ।

सयपत्री फूललाई अचेल किलो, पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । किसानले ढ्वाङ्को करिब रु ७०० सम्म र किलोको रु. २५० सम्म लिने गरेका छन् । स्थानीयभन्दा उन्नत जातका सयपत्री फूलको बढी समय टिक्ने भएकाले व्यापारीले बढी मूल्य तिर्ने गर्छन् । गतवर्ष घरबाटै रु २० देखि २५ मा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ ।

स्थानीय पुष्प व्यवसायी बस्नेतका अनुसार गुण्डुका झण्डै ७५ प्रतिशत स्थानीयवासीले ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती गरेका छन् । उहाँ पछिल्लो समय मखमली फूलको मालाले उचित मूल्य नपाउँदा किसान मारमा परेको बताउनहुन्छ । किसानले भन्दा बिचौलियाले बढी मूल्य लिने गरेको बताउँदै उहाँले भन्नुभयो, “मखमली फूलको माला किन्न व्यापारी घरघर आउँछन् । किसानसँग एउटा मालाको मुस्किलले रु २१ देखि २५ सम्म लैजान्छन् तर बजारमा रु ७० भन्दा बढी मूल्यमा बिक्री गर्छन् । मालाको मूल्य निर्धारण नहुँदा किसान मारमा परेका छन् ।” राज्यले मखमली फूलको मालामा एकरुपता ल्याउन लम्बाई र गुणस्तर हेरेर मूल्य निर्धारण गर्नुपर्ने बताउँदै उहाँ व्यवसाय गर्ने महिलाहरूका लागि सरकारले गुण्डुलाई फूलखेतीको पकेट क्षेत्र घोषणा गर्दै आर्थिक अनुदान र तालिम एवं प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

किसानलाई नगरपालिकाको अनुदान

सूर्यविनायक नगरपालिकाले पुष्पखेतीको पकेट क्षेत्रको रुपमा यस क्षेत्रलाई विकास गर्दै स्थानीय किसानका लागि २०७५ सालदेखि सयपत्री फूलका बेर्ना अनुदान वितरण गर्दै आएको वडाध्यक्ष रवीन्द्र सापकोटा बताउनुहुन्छ । नगरपालिकाले साना किसान कृषि सहकारी संस्थामार्फत सयपत्री फूलको बेर्ना उत्पादन गरी रु १२ पर्ने बिरुवालाई आठ रुपैयाँ अनदान दिई वितरण गर्दै आएको उहाँको भनाइ छ । सापकोटाका अनुसार यस वर्ष स्थानीय ५५० किसान परिवारलाई रु १२ लाखबराबरको ७५ हजार सयपत्री बेर्ना वितरण, तालिम तथा प्राविधिक सहयोग गरिएको छ ।

उहाँले भन्नुभयो, “यहाँका महिला किसान फूलखेतीमा आकर्षित छन्, आम्दानीको राम्रो स्रोत र गुण्डुको पहिचान फूलखेतीमा बनेको छ, घरघरमा असारदखि नै मखमली फूलको माला झुत्तो बनाएर राखी तिहारमा बिक्री गरेका छन् ।” गुण्डुबाट प्रत्येक वर्ष करिब दुई करोडभन्दा बढी फूल र माला बिक्री हुने गरेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘फूलको व्यापारमा बिचौलिया हावी भएकाले पुष्प किसान एवं व्यवसायीलाई सिधै बजार पु¥याउन सके अझै आम्दानी बढ्ने छ ।’’ फूललाई रोगबाट जोगाउन सके राम्रो आम्दानी गर्न सकिन्छ । फूल खेतीबाट धान तथा मकैभन्दा चौबर बढी आम्दानी हुने भएकाले कतिपय किसानहरूले फूलको टनेल खेती समेत गरेर १२ महिना नै सयपत्री फूल उत्पादन गर्न थालेका छन् ।

अन्तरराष्ट्रिय बजारमा भक्तपुरका फूलमाला

अन्तरराष्ट्रिय बजारमा गुण्डुका फूलमाला पुग्ने गरेका छन् । सयपत्रीभन्दा मखमली फूल र माला अन्तरराष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायी अनिता बस्नेत बताउनुहुन्छ । नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी बस्नेतले आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पु¥याउन पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “विगत केही वर्षदेखि अन्तरराष्ट्रिय बजारका व्यापारीमार्फत यहाँका फूल तथा माला पु¥याउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरु किसानका उत्पादन पनि खरिद गरेर विदेशका लागि व्यापारीलाई फूल तथा माला पठाउँछु ।” यस वर्ष पनि अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान, दुबईलगायतका देशमा मखमली फूलका माला पठाइएको छ ।