२६ भदौ २०८३, शुक्रबार 1789173092
Banner

नेपालले जित्यो टी–२० विश्वकप क्षेत्रीय छनोटको उपाधि

काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक क्षेत्रीय छनोटको उपाधि हात पारेको छ। ओमानमा सम्पन्न अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित उपाधि जितेको हो।

यस जितसँगै नेपालले शीर्ष स्थान हासिल गर्दै सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेको छ। त्यस्तै, ओमान दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनोट भएका छन्।

नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा सामोआले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा केवल ८७ रन बनाउन सक्यो। सामोआका सेन सोलियाले सर्वाधिक ४० रन बनाए।

बलिङतर्फ नेपालका ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक–एक विकेट हात पारे। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनाएको थियो। नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे — आसिफ शेखले ४१ बलमा ६९ रन र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए।

त्यसअघि कुशल भुर्तेल १७ रनमा, आरिफ शेख ९ रनमा आउट भए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन र लोकेश बमले १२ बलमा अविजित ३९ रन जोडे।