३ भदौ २०८३, बुधबार 1787158061
Banner

सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुँर्दै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेस हुँदै छ ।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याइनुपर्ने सरकारको ‘नीति तथा कार्यक्रम’ मंगलबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुनेछ । राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम संयुक्त सदनलाई सम्बोधन गर्नुहुनेछ । राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्नुभएपछि संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने कार्यसूची छ ।

बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । यही नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ ।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा दिगो आर्थिक विकास, कोरोना महामारीपछिको पुनरुत्थान, पर्यटन, आन्तरिक श्रम व्यवस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उत्थानका कार्यक्रम समावेश गरिने जनाइएको छ ।

राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजित नयाँ बजेट सार्वजनिक गर्नेछ । आगामी १५ जेठमा संसद्मा प्रस्तुत हुने बजेटको सिलिङ झन्डै साढे १७ खर्ब रहने बताइएको छ ।