१ जेष्ठ २०८३, शुक्रबार 1778904209
Banner

छठको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै

काठमाडौं। छठ पर्वको आज दोस्रो दिन, खरना गरी मनाइँदै छ। हिजोबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो। छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ। यसदिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ।

हिजो ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतातुले कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्।

निराहार व्रत बसेर साँझपख सजिसाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुबाएर ‘अस्ताउँदो सूर्य’लाई अर्घ दिने गरिन्छ । यसलाई ‘सँझियाघाट’ भनिन्छ। यसको भोलिपल्ट सप्तमीका दिन मंगलबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ।

छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ।