१६ असार २०८३, मंगलबार 1782872659
Banner

आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दैछ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल विहान सवा ११ बजे सुरु हुनेछ। नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो।

तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ। तर आईसीसी टी (२) विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ।

नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्यो। यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो। त्यसपछि यूएई फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती छ, त्यो हो अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट लिग टूको प्रतियोगिता।

सन् २०२४ मा सुरू भएर २०२७ सम्म सञ्चालन हुने विश्वकप लिग टूमा अहिले आधाभन्दा धेरै खेल सकिएका छन्। नेपालले भने खेल्नुपर्ने ३६ मध्ये १६ खेल खेलेको छ। १६ मध्ये पाँच खेलमात्रै जितेको नेपाल अहिले तालिकाको सातौं स्थानमा छ। यता अमेरिकाले भने २० खेलबाट २८ अंक जोडिसकेको छ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म नौ खेल भएका छन्। त्यसमध्ये नेपाल र अमेरिका समान चार–चार खेलमा विजयी भएका छन्। तर पछिल्ला पाँच खेलमा नेपालले एक मात्र जित हासिल गर्न सकेको छ। सन् २०२३ को जुनमा नेपालले अमेरिकालाई पछिल्लो पटक हराएको थियो।

त्यसपछि अमेरिकाले नेपालविरूद्ध दुई जित निकालिसकेको छ। यी दुई टिमबीच यूएईमा पहिलो पटक खेल हुन लागेको हो। यसअघि नेपालले यूएईको सारजाहमा वेस्ट इन्डिजलाई नै हराएको थियो।