११ श्रावण २०८३, सोमबार 1785143885
Banner

भीरबाट लडेर तीन जनाको मृत्यु

बैतडी– भीरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, इन्द्रसिंह साउद र हरुली कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा आज दिउँसो भीरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए । उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।

इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बुधबारदेखि हराइरहेकी कार्कीको खोजी गर्दा भीरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उहाँको भीरबाट लडेर मृत्यु भएको जनाइएको छ ।

तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।