४ असार २०८३, बिहिबार 1781843404
समाचार

चोयाका सामाग्रीको संरक्षणमा जुटेका रावत, मेहनत अनुसारको आम्दानी भने कम

बाजुरा, १९ कात्तिक । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ लमगाउँका स्थानीय प्रेमबहादुर रावत परम्परागत स्थानीय प्रविधिको संरक्षणमा जुटेका छन् । निगालोबाट बन्ने सामाग्रीहरु निर्माण गरेर रावतले लोप हुँदै गएको प्रविधिको संरक्षण गर्दै आएका हुन् । पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका सुपा (नाङलो),डाला, डोको, छाप्री लगायतका सामग्री संकटमा परिरहेको अवस्थामा रावतले भने ती सामाग्रीहरुको अस्तित्व संकटमा पर्न नदिन सामाग्रीहरुको संरक्षण गर्दै मेहनती किसानको परिचय दिएका छन् ।

आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भरता बढ्दा स्थानीय सीप ओझेलमा पर्न थालेको छ । पहिलेको समयमा जताततै चोयाबाट बनेका सामाग्री देखिन्थे । गोठालाहरु पनि गाईभैंसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गर्दथे । तर अहिले प्रविधिको विकासले यो पेशा लोपन्मुख अवस्थामा पुगेको रावतले बताए । रावतले भने, ‘अहिले अधिकांश ठाउँमा प्रविधिको सहायताले काम गरिन्छ । परम्परागत प्रविधि र सीप लोप हुदैँ गएको छ । पहिले बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्य आम्दानी हुन्थ्यो,तर अहिले बुन्ने गरेको भए पनि बेच्नै धौधौ हुने गरेको छ ।’

परम्परागत स्थानीय सीपको संरक्षण गर्नुपर्छ भनेर आफूले पनि चोयाका सामाग्री बुन्ने गरेको रावतले बताए । गाउँघरमा बुनेर बेच्नको लागि टाढा बजारसम्म लिनुपर्छ, सामाग्री सबै बिक्री भए पनि मेहेनत अनुसारको आम्दानी भने नहुने गरेको उनले जानकारी दिए । अहिले घरघरमा प्लास्टिकका डोका, डाला प्रयोग गर्न थालिएकोले स्थानीय सामाग्रीमाथि चुनौती थपिएको उनको बुझाई छ । तर मेहेनत र सीपलाई जस्तो प्रविधि आए पनि असर गर्न सक्दैन भन्ने कुरा उनले प्रमाणित गरेका छन् । अहिलेको प्रविधिको युगमा पनि उनले चोयाका सामाग्री निर्माण गरेर पुख्र्याैली पेशा र सीपको संरक्षण गर्दै आएका हुन् ।

कुनै पनि पेशा, व्यवसाय सानोठूलो हुँदैन भन्ने सोच उनमा छ । त्यही सोचका साथ रावत स्थानीय उत्पादित सामाग्रीको संरक्षणमा जुटिरहेका छन् । आफ्नो पालामा हरेक दुःख कष्ट भोगेको स्मरण गर्दै उनले पछिल्लो समय आधुनिकताले दुःख कष्ट सहज भए पनि परम्परागत प्रविधि, पेशा, व्यवसाय र सीप हराउँदै गएकोमा दुःख व्यक्त गरे । पहिले एकै सिजनमा धेरै चोयाका सामग्री बिक्री हुने गरेकामा अहिले बिक्री नै नहुने र प्रविधिले सामग्रीको प्रयोगमा कमी आएको रावतको भनाई छ । परम्परागत प्रविधि र सीपप्रति नयाँ पुस्ताले चाँसो नदेखाउँदा सीप हस्तान्तरण हुन नसकेको बुढापाखाको भनाइ छ ।

बूढापाकाका हातखुट्टा चल्न छाडेपछि स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप भएर जाने खतरा बढेको उनीहरुको भनाइ छ । चोयाबाट बनेका डालो, नाङ्लो, डालो लगायत सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने गरेका छन् । तर स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले मौलिक सीपबाट बनेका सामानले बजार नपाउने गरेको छ । स्थानीय परम्परागत प्रविधि र सीपको संरक्षण गर्नमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने देखिन्छ । स्थानीयलाई विभिन्न प्रकारका स्थानीय सामाग्री उत्पादन गर्ने तालिम दिई स्थानीय प्रविधि र सीपको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्ने देखिन्छ ।