९ भदौ २०८३, मंगलबार 1787676576
समाचार

कैलालीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २, तेघरीमा बुधबार बिहान यात्रुबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दिपायलबाट धनगढीका लागि छुटेको ना ५ ख ५२५ नम्बरको बसले बाटो काट्दै गरेकी अन्दाजी ८० वर्षीया दिलमाया तामाङलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी तामाङको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि आक्रोशित स्थानीय बासिन्दा र मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै केही समय सडक अवरुद्ध पारेका थिए। पीडित पक्षसँग कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।