काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव रहेको बताएकी छन् । आज सर्वदलीय बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल भएकाले साथ सहयोगको अपेक्षा गरिन् ।
“म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु– मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस् । यो समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन, यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो,“ उनले भनिन् ।
उनले दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने उल्लेख गरिन् ।
उनले निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने बताइन् ।
“अब संसद् पुनर्स्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ । तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ,“ उनले भनिन् ।


