काठमाडौं, ११ मंसिर । सुमित बर्माको अर्धशतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल खडा ग¥यो ।
पोखराका सुमितले सर्वाधिक ५० रन बनाए । उनले २९ बलमा दुई चौका र चार छक्का प्रहार गरे । पोखराबाट ओपनरद्वय दीनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका निम्ति ८.३ ओभरमा ६१ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दीनेश खरेलले तीन रन बनाए । रोसिङ्टनले १७ बलमा तीन चौकासहित २४ रन थपे ।
तर, स्कोरबोर्डमा ६४ रन बनाउँदा चार विकेट गुमाएपछि पोखरा पुनः दबाबमा आएको थियो । ६४–४ को स्थितिबाट पाँचौँ विकेटका निम्ति सुमित र त्रितराज दासले ७२ रनको साझेदारी गरेपछि पोखरा चुनौतीपूर्ण लक्ष्यसम्म पुगेको हो ।
त्रितराजले २८ बलमा २९ रन बनाए । पोखराका कप्तान कुशल भुर्तेल ‘गोल्डेन डक’ भए । नवौँ ओभरको चौथो बलमा पोखराले भुर्तेललाई गुमाएको हो । सोही ओभरको तेस्रो बलमा एडम रोसिङ्टन आउट भएपछि भुर्तेल ब्याटिङका निम्ति क्रिजमा ओर्लिएका थिए । तर, लगत्तै चौथो बलमा जनकपुरका सञ्जय कृष्णमुर्थीले भुर्तेललाई बोल्ड गरे ।
गत सिजन जनकपुरबाटै खेलेको जिम्मी निसम पनि एक रनमै पभेलियन फर्किए । डान डाउथवेटले सात रन बनाए । जनकपुरका सञ्जय कृष्णमुर्थीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सञ्जयले ५.२५ को इकोनोमीसहित २१ रनमात्र खर्चिए । कप्तान अनिल साह र ललितनारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।
जनकपुर र पोखरा दुवै टिमले यस सिजनमा अहिलेसम्म जित निकाल्न सकेका छैनन् । जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो । यता, पोखरा भने पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो ।


