बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न नवीनतम प्रविधि र सीप सिकाईलाई अवलम्बन गर्न आवश्यक भएको बताएका छन् ।
नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षासम्बन्धी प्रदर्शनात्मक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपद् पूर्व सूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैं चुस्त राखिनु पर्नेमा जोड दिए ।
‘यसलाई सिकाइको रूपमा लिन जरुरी छ । भावी दिनमा हुनसक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात गर्न आवश्यक छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘हामीले विगतमा धेरै क्षति बेहोरेका छौँ । भावी दिनमा क्षति दोहोरो नहोस् भन्ने उद्देश्यले सरकार सधैं पूर्व सतर्कता र तयारीमा संवेदनशील रूपमा काम गरिरहेको छ ।’
उनले आर्जित ज्ञानलाई सतर्कता र तयारीको काममा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । विद्यार्थीहरूले गरेको खोज तथा अनुसन्धानको उनले प्रशंसा पनि गरे ।
विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका ४ हजार विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ ।


