काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । आइतबार भएको खेलमा घरेलु टोली नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि सीता रानामगरले २ विकेट लिइन् । उनले आफ्नो स्पेलमा १४ रन दिइन् । थाइल्यान्डका लागि नाथाकानले सर्वाधिक ५७ रनको योगदान दिईन् ।
नन्नापाटले ३२ र अविसराले २८ रन बनाईन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली निर्धारित २० ओभरमा १ सय २२ रन बनाउँदा अलआउट भयो ।
पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको नेपाली टोली मध्यक्रममा सम्हालिन सकेन । नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो । ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट हुन पुगिन् ।
अर्की ओपनर विन्दु रावल ४४ रनमा आउट भईन् । ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो । यसअघि उनको सर्वाधिक रन २८ रन थियो ।
१० बलमा २ छक्का र १ चौका प्रहार गरेकी रुविना क्षेत्री १७ रन बनाउँदै पेभेलियन फर्किइन् । पुजा महतो १२ रन बनाउँदा क्याच आउट भईन् । इन्दु बर्मा ६ रनमा क्याच आउट भइन् । कविता कुवँर २ रनमा रनआउट हुन पुगिन् । सीता रानामगर शून्य रनमा नै आउट भइन् ।


