काठमाडौं, माघ ६ । मजदुर आन्दोलनका नेता विनोद श्रेष्ठ काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर १० मा नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् । उनी जनप्रतिनिधिका रूपमा निर्वाचित भई सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधित्व गर्दै मजदुर र भुईँ मान्छेको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
एमालेका दीर्घकालीन स्वयंसेवी कार्यकर्ता रहेका श्रेष्ठले करिब चार दशकदेखि विभिन्न भूमिकामा मजदुर र श्रमिकका हकहितका लागि योगदान गर्दै आएको पार्टीले जनाएको छ । पार्टीका अनुसार उनको निरन्तर समर्पण, त्याग र संगठनप्रतिको निष्ठाको कदर गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरिएको हो ।
पार्टी नेतृत्वले विनोद श्रेष्ठ आफ्नो जन्मभूमि तथा पसिनाले सिञ्चित निर्वाचन क्षेत्रका मतदाता र जनताको अत्यधिक माया, विश्वास र समर्थन प्राप्त गर्दै विजयी हुने विश्वास व्यक्त गरेका छन् । एमालेका अनुसार श्रेष्ठको उम्मेदवारीले श्रमिक वर्ग, श्रमजीवी जनता र उपेक्षित समुदायका मुद्दा संसद्मा प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ ।
मजदुर पृष्ठभूमिबाट आएका नेता श्रेष्ठको उम्मेदवारीलाई काठमाडौं–१० मा श्रमिक, निम्न आय वर्ग र आम नागरिकका सरोकारलाई राष्ट्रिय राजनीतिको केन्द्रसम्म पुर्याउने अवसरका रूपमा समेत हेरिएको छ ।


