काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौँमा सर्लाहीका युवाहरूसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहे पनि यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् ।
काठमाडौँ–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरे पनि आँट नपुगेको उल्लेख गरे ।
कांग्रेसलाई मधेसले नै अहिलेको अवस्थामा ल्याएकाले मधेससँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेसको नेतृत्व गर्ने प्रयास गरे मात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे ।
आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेसका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए । सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफूले जनताको समस्या सुन्ने उल्लेख गरे ।
त्यस्तै, सभापति थापाले युवाहरूको भावनालाई आत्मसाथ गर्न पार्टीमा परिवर्तनको प्रयास गरेको र सफल भएको बताए । अहिलेको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केहि कमी कमजोरी भए पनि कुनै आर्थिक चलखेल नभएको उनले बताए ।


