काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासमा ७७औँ गणतन्त्र दिवस मनाइएको छ । कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सोमबार भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ गरे । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो ।

सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे । रु ७ करोड २ लाख बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरू हस्तान्तरण गरे । कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्त्वपूर्ण प्रगतिलाई समेटिएको एउटा भिडियो प्रस्तुत गरिएको थियो।

यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत जीवन्त नृत्य र साङ्गीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए।


