२४ भदौ २०८३, बुधबार 1788986683
कुटनीतिक

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग स्वरूप भारतले बुधबार थप ३५ टन राहत सामग्री र उपकरण पठाएको छ । 

भारतीय अधिकारीहरूका अनुसार भारतीय वायुसेनाको सी १७ ट्रान्सपोर्ट एयरक्राफ्टमार्फत उक्त मानवीय सहायता नेपाल पठाइएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार राहतको पछिल्लो खेलमा एनडीआरएफका उपकरण, उद्धारका सामग्री, फरेन्सिक सामग्री र सेनाको टोलीका लागि आवश्यक बन्दोबस्तीका सामानसहित ३५ टन राहत तथा उद्धार सामग्री समावेश छन् ।बाढी गएको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी बालेन्द्र शाहबचि टेलिफोन वार्ता भएको केही घण्टामै भारतले पहिलो चरणको राहत सामग्री पठाएको थियो । 

त्यसयता नयाँ दिल्लीले नेपाललाई निरन्तर राहत र अत्यावश्यक औषधिहरू पठाइरहेको छ । यसका साथै, नेपाली सेनासँगै रहेर काम गर्न एक भारतीय सुरुङ उद्धार टोली र मृतकहरूको पहिचानमा मद्दत गर्न एक फरेन्सिक टोली पनि नेपालमा खटाइएको छ ।

यसअघि सेप्टेम्बर ३ को राति मात्रै भारतले दुईवटा सैन्य विमानमार्फत २१ टनभन्दा बढी अत्यावश्यक राहत सामग्रीसहित छैटौँ र सातौँ खेप पठाएको थियो । 

यसैबिच, प्रभावित क्षेत्रहरूमा थप शवहरू फेला परेसँगै बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १,३६७ पुगेको छ । नेपाल प्रहरीले जारी गरेको पछिल्लो बुलेटिनअनुसार अझै पनि ५८९ विदेशी नागरिकसहित ५,३२६ जना बेपत्ता छन् । उद्धार टोलीहरूले उनीहरूको निरन्तर खोजी गरिरहेका छन् ।

हालसम्म उद्धार टोलीले चितवनबाट ३६३, नवलपरासी पूर्वबाट २२६, नवलपरासी पश्चिमबाट २२२ र नुवाकोटबाट १९७ वटा शव निकालेको छ ।