काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त समारोह भारतको चेन्नईस्थित आईआईटी मद्रासमा सम्पन्न भएको छ।

आठ हप्ते पूर्ण रूपमा वित्तपोषित तालिम तथा नवप्रवर्तन कार्यक्रम पूरा गरेका २४ नेपाली स्टार्टअपहरू समारोहमा दीक्षित भएका हुन्। समारोहमा भारत सरकारको विदेश मन्त्रालयका उत्तर विभागका अतिरिक्त सचिव मुनु महावर प्रमुख अतिथिका रूपमा सहभागी थिए।
उनले कार्यक्रम आयोजना गरेको आईआईटी मद्रास र त्यसको नवप्रवर्तन इकोसिस्टमलाई धन्यवाद दिँदै सहभागी स्टार्टअपहरूलाई बधाई पनि दिए । महावरले यस पहलले भारत-नेपालबीचको स्टार्टअप सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिएको इन-स्पान कार्यक्रम अन्तर्गत सहभागीहरूले तालिम, कार्यशाला, सीप विकास र इन्टर्नसिपका अवसर प्राप्त गरेका थिए।
आईआईटी मद्रास प्रवर्तकले हालसम्म ४६ स्टार्टअप इन्क्युबेट गरिसकेको छ, जसमध्ये १४ स्टार्टअपले आफ्नो प्रविधि व्यावसायिक रूपमा सञ्चालन गरिसकेका छन्। कार्यक्रमका सहभागीको तर्फबाट एडाभरकी संस्थापक युनिका बज्राचार्य र एड्ट्राकी संस्थापक आसिम श्रेष्ठले अनुभव साझा गर्दै कार्यक्रम अपेक्षाभन्दा प्रभावकारी भएको बताए।
उनीहरूले यस कार्यक्रमबाट प्राप्त सिकाइलाई नेपालमै संस्थागत गर्न आईआईटी मद्रास प्रवर्तक सेन्टर अफ एक्सेलेन्स स्थापना गर्न प्रस्ताव समेत गरेका छन्। समारोहमा आईआईटी मद्रासका प्रोफेसर एमेरिटस मंगला सुन्दर, प्रोफेसर गौरव रैना, आईआईटीएम प्रवर्तकका विशिष्ट रणनीतिक सल्लाहकार लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) करणवीर सिंह ब्रार, नयाँ पहल प्रमुख राजेन्द्र मुथा तथा इन-स्पान कार्यक्रम प्रमुख श्रीकान्त वालुथुरले पनि मन्तव्य राखे। इन-स्पान का २४ सहभागी नेपालभरिबाट आएका करिब २५० आवेदनमध्ये प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गरिएको हो।
लिखित आवेदन, प्रस्तुति र अन्तर्वार्ताका आधारमा आईआईटी मद्रास प्रवर्तकको नेतृत्वमा छनोट प्रक्रिया सम्पन्न गरिएको थियो। सहभागी स्टार्टअपहरू साइबर सुरक्षा, ई-कमर्स, एआई, हेल्थकेयर, एग्रिटेक, क्लाइमेट टेक, ड्रोन प्रविधि, फिनटेक, एडटेक लगायत विभिन्न क्षेत्रमा कार्यरत छन्। कार्यक्रम तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चार हप्तामा आईआईटी मद्रासका प्राध्यापक र स्टार्टअप विज्ञबाट कक्षा तथा कार्यशाला, त्यसपछि दुई हप्ताको प्राविधिक सीप विकास तालिम र अन्तिम दुई हप्तामा भारतका स्टार्टअपहरूमा इन्टर्नसिपको अवसर प्रदान गरिएको थियो।

कार्यक्रमको परिणामस्वरूप नेपाली स्टार्टअपहरूले भारतीय स्टार्टअपहरूसँग व्यावसायिक सहकार्य सुरु गरेका छन्। नौ वटा नेपाली स्टार्टअपले आईआईटी मद्रास इन्क्युबेसन सेल र प्रवर्तकबाट इन्क्युबेसन तथा लगानी प्रस्ताव प्राप्त गरेका छन्।
आईआईटी मद्रास इन्क्युबेसन सेलका पोर्टफोलियो कम्पनीहरूको संयुक्त मूल्यांकन ६ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ।
वार्षिक रूपमा सञ्चालन गर्ने लक्ष्यसहित सुरु गरिएको इन-स्पान कार्यक्रमप्रति नेपाली स्टार्टअप समुदायको चासो बढेकाले आगामी समूह केही महिनामै सुरु गरिने जनाइएको छ।


