बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एमाले बाजुराबाट उम्मेदवार बनेका नेता लालबहादुर थापा यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।
आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो विजयी हासिल गर्नका लागि बाजुराका दुर्गम बस्तीमा रहेका मतदाताहरुसँग नेता थापाले भोटको अपिल गर्दै आएका छन् ।
थापा अहिले गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष सुखःदुःख साटासाट गरिरहेका छन् । थापासँगै बाजुराबाट एक स्वतन्त्रसहित ६ जना चुनावी मैदानमा छन् ।
नेकपा (एमाले) बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ९ वटै स्थानीय तहमा कार्यकर्ता भेला तथा चुनावी अभियान सञ्चालन गरेको छ । कार्यकर्तासँग भेटघाट र जनताका जनआकांक्षा सुन्न सिंगो एमाले बाजुरा घरदैलो अभियान गरिरहेको छ ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय भोगेको एमाले बाजुरा यसपटक निर्वाचन जित्ने दाउका साथ लागेको छ । २०७९ सालको प्रत्यक्षतर्फको प्रतिनिधि सभा निर्वाचनमा एमालेका कर्णबहादुर थापा नेपाली कांग्रेसका ब्रदी पाण्डेसँग पराजित भएका थिए ।
समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीयस्तरका समस्या र विकासका विषयमा यतिबेला एमाले बाजुराले गहन छलफल गरिरहेको छ ।


