बैतडी-बैतडीको पुर्चाैडी नगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ। नगरपालिकाले बिहीबार बेलुका आफ्नो क्षेत्रमा जन्ती सवार गाडी दुर्घटना भई १३ जनाको ज्यान गएपछि शोक बिदा दिएको जनाएको छ।

जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ।
प्रहरीका अनुसार बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । नगरपालिकाको वडा नम्बर ७, बडगाउँ मोडमा जन्ती बोकेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पल्टिँदा ६ जनाको घटनास्थलमै र ७ जनाको उपचारका क्रममा मृत्यु भएको हो। ३४ जना घाइते भएका छन् ।
मृतकमा पुर्चौडी नगरपालिकाका साथै अन्य पालिकाका बासिन्दा पनि छन्।
घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै पुर्चौडी नगरपालिकाले आफ्नो कार्यालयसहित अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थामा शोक बिदा दिएको हो।
‘उपरोक्त सम्बन्धमा मिति २०८२।१०।२२ गते पुर्चौडी नगरपालिका वडा नं. ७ बडगाँउमा जन्ती सवार गाडी दुर्घटनामा परी असामयिक र दुःखद निधन भएको खबरले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ। उक्त त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाउनु हुने मृतकहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँहरूको पवित्र आत्माको चिर शान्तिको कामना गर्दछौँ। साथै आफ्ना प्रियजन गुमाउनुपर्दाको यो गहिरो वियोग र असह्य पीडाको घडीमा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी कामना गर्दछौँ’, नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूको सम्मानमा मिति २०८२।१०।२३ गते शुक्रबारका दिन यस पुर्चौडी नगरपालिका कार्यालय एवं यसअन्तर्गतका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णयानुसार यो जारी गरिएको छ।’
दुर्घटनामा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ का ४० वर्षीय पुष्पा अवस्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, बित्थडचिर गाउँपालिका–७ का ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। डडेलधुरा अस्पतालमा उपचारको क्रममा राति थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
डडेलधुरा अस्पतालमा मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, २७ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ वर्षीय सुशिल जोशी छन्। बस सडकबाट २ सय मटिर तल खसेको छ। दुर्घटनापछि बस चालक बिरेन्द्र बुढालाई प्रहरी नियन्त्रणमा लिएको छ।


