काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले रसुवा बाढी पीडितको लागि राहत सामग्री संकलन गरेपनि प्रभावित क्षेत्रमा पुर्याउन नसकेको आरोप लगाएका छन्।

आइतबार एमाले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा उनले प्रभावित क्षेत्रमा राहत पुर्याउन सरकार असफल भएको टिप्पणी गरेका हुन्। संघीय सरकारले राहत नेपाली सेनाको नुवाकोटको बट्टारस्थित ब्यारेक र रसुवाको धुन्चेस्थित ब्यारेकमा संकलन गरेर राखेको उनले बताए। उनले संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई बेवस्ता गर्दा प्रभावकारी ढंगले राहत वितरण तथा उद्धारको काम हुन नसकेको दाबी गरे।
‘आज प्रधानमन्त्री कार्यालयबाट मलाई साढे ११ बजे बोलाएको थियो। त्यहाँको विपद् व्यवस्थापनको टिमसँग म बसेँ। उहाँहरूले राहत संकलन गर्नुभएको छ, तर सम्बन्धित ठाउँमा अहिले पनि राहत पुगेको छैन’, उनले भने, ‘मैले त्यहाँ त्यहीबाट गोसाइँकुण्ड गाउँपालिका अध्यक्षज्यूलाई फोन लगाए र उहाँलाई ह्यान्ड्सफ्री सुनाएँ। जति पनि राहत सामग्रीहरू नुवाकोटको बट्टारमा गएर बसेको छ। अनि रसुवाको धुन्चेको ब्यारेकमा गएर बसेको छ। त्यो सामग्रीलाई डिस्ट्रिब्युसन गर्नुपर्यो। मुख्यमन्त्रीज्यू अब हामीबाट नहुने भो । यो चाहिँ तपाईँले स्थानीय पालिकाबाट समन्वय गर्दिनु पर्यो, पालिकाका अध्यक्षज्यूहरूलाई जोड दिएर त्यसको जिम्मा अब तपाईँले लिदिनुपर्यो भनेर आज अहिले मलाई जिम्मा लगाउने काम भएको छ।’
थापाले रसुवामा आएको बाढीवाट करिव ५ हजारभन्दा बढी मानिस बेपत्ता भएको दाबी गरे। उनका अनुसार गोसाइँकुण्ड, उत्तरगया र किस्पाङ गाउँपालिकामा बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। गोसाइँकुण्ड गाउँपालिकामा मात्रै करिब २ हजारभन्दा बढी मानिस बेपत्ता भएको उनको भनाइ छ।

