३ कार्तिक २०८३, मंगलबार 12:19 pm
प्रदेश

दाङका थारूहरुले लगाए गउँल्या टीका

कात्तिक २ गते । थारू समुदायले आज आफ्नो मौलिक परम्पराअनुसार दसैँको गउँल्या टीका (सेतो टीका) लगाएका छन् । अष्टमीका दिन ढिक्री पूजा गरेपछि भोलिपल्ट पितृलाई सम्झने, भुइँयारथानमा पूजापाठ गर्ने र गाउँका मटाँवासँग गउँल्या टीका लगाउने प्रचलन रहेको छ ।

दंगीशरण गाउँपालिका –३ हेकुलीका अगुवा तथा गाउँपालिकाका पूर्वअध्यक्ष भागीराम चौधरीका अनुसार थारू समुदायले परम्परागत विधिअनुसार पूजापाठ गरी सामूहिक रूपमा गउँल्या टीका लगाउने गर्छन् । उहाँका अनुसार अष्टमीको साँझ ढिक्री पूजा गरेपछि गउँल्या टीकाको दिन बिहान पितृलाई सम्झेर पित्तर दिने गरिन्छ । त्यसपछि चल्ला र कुभिन्डोको बलि दिइ घरको पूजापाठ सम्पन्न गरिन्छ । 

खानपिनपछि गाउँका अगुवा तथा घरमूलीहरू जमरा, बाबरी फूल र मड (रक्सी) लिएर गाउँको भुइँयार थानमा भेला हुन्छन् । त्यहाँ पूजापाठसँगै बर्कीमार गीत गाउने र एकअर्काको कानमा जमरा तथा बाबरी फूल सिउरिएर दसैँको शुभकामना आदानप्रदान गर्ने चलन छ।

भुइँयारथानमा पूजापाठ र सांस्कृतिक विधि सम्पन्न गरेपछि गाउँलेहरू मटाँवाको घरमा पुग्छन् । त्यहाँ गाउँका मटाँवासँग पालैपालो गउँल्या टीका लगाउने परम्परा रहेको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गउँल्या टीका थारू समुदायको दसैँ मनाउने विशिष्ट सांस्कृतिक पहिचान हो । यो टीका लगाएसँगै थारू बस्तीमा दसैँको उत्सव थप उल्लासमय बन्छ।”  

गउँल्या टीकाको दिनदेखि तीन दिनसम्म दिउँसो सख्या र पैयाँ नाच नाच्ने प्रचलन रहेको चौधरीले बताउनुभयो । अन्य समयमा राति नाचिने सख्या नाच गउँल्या टीकापछि भने दिउँसो नाच्ने गरिन्छ । मादलको तालमा सामूहिक रूपमा नाचिने सख्या र पैयाँले गाउँको वातावरणलाई उत्सवमय बनाउँछ । 

उहाँले भन्नुभयो, “गउँल्या टीका थारू समुदायको मौलिक संस्कार, सामूहिक एकता र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो ।” दसैंको अवसरमा गरिने पूजापाठ, बर्कीमार गीत, जमरा तथा बाबरी फूल सिउरिने विधि र सामूहिक सख्या, पैयाँ नाचगानले थारू समुदायको परम्परागत संस्कृति जीवन्त राख्न योगदान पुग्छ ।