रौतहट, ६ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई रौतहटबासीले जंगलराज स्वीकार्य नगर्ने कडा चेतावनी दिएका छन् । रौतहट–३ का उम्मेदवार समेत रहेका साहले आज मर्यादपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । रास्वपाका कार्यकर्ताहरुले चुनावी कार्यक्रमलाई लक्षित गर्दै उद्दण्डता प्रदर्शन गरेपछि आक्रोशित भएका साहले रौतहटबासीले जंगलराज अस्वीकार गर्ने बताए ।
हिजो रौतहटको महम्मदपुरमा आयोजित चुनावी कार्यक्रममा पुगेर रास्वपाका कार्यकर्ताहरुले हुलहुज्जत, हुलदंगा र अस्वभाविक उदण्डता देखाएका थिए । आजपा अध्यक्ष साहले चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहँदा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गर्ने, गालीगलौज गर्ने र कार्यक्रम विथोल्न प्रयास गरेका थिए ।
आजपा अध्यक्ष साहले रास्वपाका कार्यकर्ताहरुको यस्तो असभ्य व्यवहार र अमर्यादित गतिविधि तत्काल नियन्त्रण गर्न प्रशासनलाई आग्रह गरेका छन् । उनले भने, ‘हिजो महम्मदपुरमा हाम्रो चुनावी कार्यक्रममा घण्टी छापको नाममा देखाईएको हर्कत निन्दनीय छ । यसको विषयमा म रवि लामिछाने र बालेन शाहसँग सोध्न चाहन्छु–तपाईंहरुको सुशासन यही हो ? अर्काको चुनावी कार्यक्रममा हुलदंगा गर्न भनेर कार्यकर्तालाई निर्देशन दिनुभएको हो र ? यो त जंगलराज होईन र ?’
देशको विकास भएन भनेर जवाफ माग्ने रास्वपाका नेताहरुलाई साहले केपी ओलीको पाउ परेर गृहमन्त्री खाने र पटक पटक सत्तामा जाने रवि लामिछानेसँग सोध्न भनेका छन् । आजपा अध्यक्ष साहले भने, ‘विकास भएन भन्ने जवाफ केपी ओलीसँग मिलेर पटक पटक सरकारको भोग गर्ने तिमीहरुले दिने हो कि लगातार विपक्षमा रहेर जनताको पक्षमा उभिएको प्रभु साहले दिने हो । ? अलिकति नैतिकता छ भने यसको जवाफ देउ ।’
उनले अर्को पार्टीको कार्यक्रममा हुलदंगा गरी सामाजिक उपद्रो गर्ने अपराधीहरुलाई तत्काल गिरफ्तार गर्नपनि सुशीला सरकारसमक्ष माग गरेका छन् । उनले भने, ‘देशमा कानूनी शासन छ भने तत्काल दोषीलाई कारबाही होस । अन्यथा यहाँका जनताले ती हुलहुज्जत गर्नेहरुलाई प्रतिकार गर्नेछन् ।’


