काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार रामेश्वर फुयालको घरदैलोमा जनताको उल्लेखनीय समर्थन देखिएको छ। टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका फुयाललाई स्थानीयवासीले आत्मीय स्वागत गर्दै विकासको निरन्तरताका लागि साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
फुयाल बागमती प्रदेश सरकारमा मन्त्री रहँदा पूर्वाधार निर्माण, सडक स्तरोन्नति, खानेपानी विस्तार, विद्यालय

सुधार तथा स्वास्थ्य सेवा सुदृढीकरण जस्ता क्षेत्रमा सक्रिय पहल गरेका कारण अहिले पनि जनतामाझ लोकप्रिय रहेको स्थानीयको भनाइ छ। “काम गर्ने नेताको रूपमा चिनिनुभएको छ,” एक स्थानीयले प्रतिक्रिया दिए।

घरदैलोका क्रममा फुयालले काठमाडौं ३ को समग्र विकासका लागि दीर्घकालीन योजना अघि सार्दै सुशासन, पारदर्शिता र युवामुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन्। उहाँले जनताको सुझाव र आवश्यकतालाई नीति निर्माणमा समेट्ने प्रतिबद्धता दोहोर्याउनुभयो।

राजनीतिक वृत्तमा काठमाडौं ३ मा फुयालको बढ्दो जनसमर्थनका कारण ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङ समेत चुनावी चर्चामा छायामा परेको टिप्पणी हुन थालेको छ। स्थानीय विश्लेषकहरूका अनुसार क्षेत्रीय विकास र जनसम्पर्कका आधारमा फुयालको अभियान बलियो बन्दै गएको देखिन्छ।

काठमाडौं ३ मा देखिएको उत्साहपूर्ण सहभागिताले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धाको संकेत दिएको छ ।


