नयाँ दिल्ली । भारतका विदेशमन्त्री एस जयशंकरले इरानसँग भइरहेको कूटनीतिक वार्ताले स्ट्रेट अफ हर्मुज हुँदै भारतीय जहाजहरूको आवागमनमा आएको अवरोध कम हुने आशा व्यक्त गरेका छन् ।
फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले आफूले इरानी पक्षसँग निरन्तर संवाद गरिरहेको र त्यसबाट केही सकारात्मक परिणाम देखिन थालेको बताएका हुन् ।
‘म अहिले उनीहरूसँग कुरा गरिरहेको छु र ती वार्ताले केही नतिजा पनि दिएको छ,’ उनले भने । तर सबै भारतीय जहाजहरूका लागि एउटै व्यापक व्यवस्था भने नभएको उनले स्पष्ट पारे ।
शनिबार भारतको झन्डा बोकेका दुई वटा ग्यास ट्यांकरले स्ट्रेट अफ हर्मुज पार गरेका छन् । यो दिल्ली र तेहरान बिचको छलफल अघि बढेपछि सम्भव भएको बताइएको छ । यद्यपि, अझै २२ वटा भारतीय जहाजहरू अझै स्ट्रेट अफ हर्मुज पार गर्न अनुमति पर्खिरहेको बताइएको छ ।
मध्यपूर्वमा सुरु भएको युद्धपछि इरानले जहाज आवागमन लगभग अवरुद्ध गरिदिएको छ । यो युद्ध अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण गरेपछि सुरु भएको हो । त्यसपछि इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी देशहरूमाथि पनि आक्रमण गर्दै आएको छ, जसको असर गैर सैन्य लक्ष्यहरूमा समेत परेको छ ।
स्ट्रेट अफ हर्मुज इरान र ओमान बिच रहेको साँघुरो समुद्री मार्ग हो । जसले पर्शियन खाडीलाई अरब सागरसँग जोड्छ । विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले यो अत्यन्त महत्त्वपूर्ण ऊर्जा मार्ग मानिन्छ ।
भारतका लागि पनि यो मार्ग अत्यन्त महत्त्वपूर्ण छ । भारतले आयात गर्ने कच्चा तेलमध्ये करिब ४० देखि ५० प्रतिशत यही मार्गबाट आउने गर्छ । साथै देशमा आयात हुने तरल प्राकृतिक ग्यासको आधा र अधिकांश तरल पेट्रोलियम ग्यास पनि यही मार्ग हुँदै आउँछ ।
पछिल्ला केही दिनयता ग्यास आपूर्ति प्रभावित हुँदा भारतमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । यसले सर्वसाधारणमा ‘प्यानिक बाइङ’ बढाएको छ भने केही रेस्टुरेन्टहरू अस्थायी रूपमा बन्द गर्नुपर्ने अवस्था पनि आएको छ ।
हालैका दिनहरूमा केही जहाजहरू कूटनीतिक प्रयासपछि स्ट्रेट अफहर्मुज पार गर्न सफल भएका छन् । रिपोर्टका अनुसार चीनका जहाजहरूलाई पनि मार्ग प्रयोग गर्न अनुमति दिइएको छ । टर्कीले पनि आफ्नो एउटा जहाज इरानी अधिकारीसँगको छलफलपछि जलडमरू पार गर्न सफल भएको जनाएको छ ।


