काठमाडौँ : पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । स्थानीय अधिकारी र उद्धार कर्मचारीहरूका अनुसार भारी वर्षाले सहरका पूर्वाधारमा प्रहार गरे पछि सहरका धेरै क्षेत्रहरूबाट हताहत भएको रिपोर्ट गरिएको छ ।
देशको दक्षिणी सिन्ध प्रान्तको राजधानी कराचीको बलदिया टाउन क्षेत्रमा वर्षका कारण पर्खाल ढलेपछि ११ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् । कायद आबाद क्षेत्रमा घरको छत खसेपछि एक दम्पती र सहरका विभिन्न क्षेत्रमा अन्य छ जनाको मृत्यु भएको जनाइएको छ ।
कराचीका मेयर मुर्तजा वहाबले सहरमा हाल तीव्र हावासहित भारी वर्षा भइरहेको जानकारी दिदै बासिन्दाहरूलाई अनावश्यक आवागमनबाट टाढा रहन आग्रह गर्नु भएको छ । मेयरले सहरका धेरै क्षेत्रहरूमा वर्षाको पानी जम्मा भएको जनाउदै, यातायात र दैनिक जीवनमा बाधा पुर्याउने घटनाहरूको व्यवस्थापन गर्न शहरमा टोलीहरू पठाइएको बताउनु भएको छ ।
सिन्धका मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीपछि कराचीसहित प्रान्त भरी उच्च सतर्कता घोषणा गर्नु भएको छ । पाकिस्तानको मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावमा बिहीबारसम्म कराची र सिन्धका अन्य भागहरूमा भारी हावा र असिनाका साथ वर्षा र आँधीबेहरीको पूर्वानुमान गरेको छ ।


