काठमाडौँ : सरकारी निकायका विज्ञापन अब सरकारी सञ्चार माध्यममा मात्रै प्रकाशित गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका मन्त्रालय, सबै प्रदेशका कार्यालय र स्थानीय तहलाई समेत यस्तो व्यवस्था गराउन निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेकाे निर्देशनअनुसार सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरुपता र पारदर्शिता ल्याउन यस्ताे नीति बनाइएकाे उल्लेख छ ।
निर्देशनात्मक पत्रअनुसार सबै खालका सरकारी निकायहरुलाई सरकारी सञ्चार माध्यम गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका निकायमा मात्रै विज्ञापन प्रकाशित गर्न भनिएको छ ।
साथै, विज्ञापनको भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै भुक्तानी गर्न पनि निर्देशन गरिएको छ ।
अहिलेसम्म सरकारी अधिकांश प्रकृतिका सूचनाहरु प्रतिस्पर्धात्मक शैली सरकारी र निजी दुवै सञ्चार गृहबाट प्रकाशन तथा प्रसारण हुँदै आएका थिए ।


