काठमाडौं । अमेरिका र इजरायली आक्रमणमा गम्भीर घाइते भएका इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी प्रमुख निर्णयहरूमा आफै सक्रिय हुन थालेका छन् ।
खामेनीका नजिकका तीन स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले खामेनीले अडियो कन्फरेन्सिङमार्फत वरिष्ठ अधिकारीहरूसँगको बैठकमा भाग लिने गरेको जनाएको हो ।
मिडिया रिपोर्टका अनुसार ५६ वर्षीय खामेनीको मानसिक अवस्था पूर्ण रूपमा बलियो छ । पछिल्ला केही दिनदेखि उनले सक्रिय निर्णय लिन पनि थालेका हुन् । आक्रमणमा उनको अनुहार र खुट्टामा गम्भीर चोट लागेको थियो ।
शनिबार इस्लामाबादमा हुने अमेरिका–इरान युद्धविराम वार्तामा पनि मोज्तबाले अडियो कन्फरेन्सिङमार्फत वरिष्ठ अधिकारीहरूसँग छलफल गरेका छन् । यद्यपि, आक्रमणपछि मोज्तबाको अवस्था अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक रूपमा पुष्टि गरिएको छैन ।
फेब्रुअरी २८ मा तेहरानमा तत्कालीन सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको निवासमा मिसाइल आक्रमण भएको थियो । आक्रमणमा सर्वोच्च नेता खामेनीसहित उनको परिवारका धेरै सदस्यहरू मारिएका थिए । आक्रमणमा मोज्तबा गम्भीर घाइते भएका थिए ।
मोज्तबाको वास्तविक अवस्था अझै पनि रहस्यमय छ । आक्रमण पछि उनको कुनै पनि तस्वीर, भिडियो वा अडियो रेकर्डिङहरू जारी गरिएको छैन । उनलाई मार्च ८ मा आफ्नो बुबाको उत्तराधिकारी नियुक्त गरिएको थियो ।
इरानी सरकारले मोज्तबाको चोटपटकको बारेमा आधिकारिक रूपमा कुनै जानकारी जारी गरेको छैन ।


