काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा समायोजन गर्न माग गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै भाडा समायोजनको माग गरेको हो ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा दुईपटक इन्धनमा मूल्यवृद्धि भएको कारण देखाउँदै भाडा समायोजन हुनुपर्ने उल्लेख छ ।
महासंघले मध्यपूर्वको द्वन्द्वका कारण नेपाल आयल नियमले पटक–पटक डिजेल र पेट्रोलमा भारी मूल्य वृद्धि गरिरहेको जनाएको छ । विज्ञप्तिमा सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारी साधन सञ्चालनमा कठिन अवस्था सिर्जना भएको उल्लेख छ ।
‘‘सरकारले २०६५ सालदेखि लागु गरेको वैज्ञानिक विधिअनुरूप स्वचालित प्रणालीबाट पाँच प्रतिशत पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा हुने भाडा समायोजन गरिदिन वा मूल्य वृद्धि फिर्ता लिन जोडदार माग गर्छौं,” विज्ञप्तिमा उल्लेख छ ।
देश भरी सेवा सञ्चालन गर्ने महासंघ सदस्यहरूलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।


