काठमाडौँ । टी २० आई सिरिजअन्तरगत पहिलो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।

वर्षाले प्रभावित बनेको खेलमा यूएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य यूएईले ८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । कप्तान मुहम्मद वसिमले सर्वाधिक ३३ रन जोडे। १५ बल खेलेका उनले ३ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै अलिशान शराफुले १८ तथा अक्षदीप नाथले अविजित १७ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ ओभरमा ८ रन खर्चेर तीन विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन जोडेको अवस्थामा खेल रोकिन पुगेको थियो ।
कप्तान दीपेन्द्र सिंह ऐरीले ३२, कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले १३/१३ रन जोडे ।
बलिङतर्फ यूएईका मुहम्मद जुहैबले तीन, जुनैद सिद्दिकीले दुई तथा हैदर अली र मुहम्मद अर्फानले एक-एक विकेट लिए ।दुई टोलीबीच अन्तिम तथा दोस्रो खेल भोलि हुनेछ ।


