काठमाडौँ । चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा राष्ट्रिय विभुति भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ ।

गत शनिबार त्यहाँ आयोजित एक कार्यक्रमका बीच प्रतिमाको अनावरण गरिएको महावाणिज्य दूतावास कार्यालयले जनाएको छ । प्रतिमा अनावरण गर्दै महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सातौँ शताब्दीमा तत्कालीन तिब्बती राजा स्रङ्चङ् गम्पोसँग विवाह गरेकी राजकुमारी भृकुटीले नेपाल–चीन सम्बन्ध स्थापना तथा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । राजकुमारी भृकुटीले चीनमा बौद्ध धर्मको स्थापना र प्रचारप्रसारमा समेत उल्लेखनीय भूमिका खेलेको र ल्हासाको योजनाबद्ध विकासमा योगदान दिएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली, जेभी फाउण्डेसन नेपालका पदाधिकारीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ । त्यस अवससरमा प्रतिमा उपलब्ध गराउने संस्थाका पदाधिकारी, ल्हासासम्म प्रतिमा ल्याउन तथा महावाणिज्य दूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोषलगायत संस्थाका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरिएको जनाइएको छ । उक्त प्रतिमा जेभी फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको र यसअघि फाउण्डेसनका केन्द्रीय अध्यक्ष जगदीश वैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई काठमाडौँमा हस्तान्तरण गरेका महावाणिज्य दूतावासले जनाएको छ ।


