काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले उपत्यकाको फोहोर उठाउने सम्पूर्ण जिम्मा आफूलाई दिइए सफलतापूर्वक पूरा गर्ने दाबी गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मानन्धरले आफूले काठमाडौंको मेयर बनेर सहजै फोहोर व्यवस्थापन गर्ने आफ्नो चाहना भए तापनि त्यो पूरा नभएको समेत बताए।
सांसद मानन्धरले आफ्नो अध्यक्षतामा संसदीय समिति बनाउन र उपत्यकाको फोहोर व्यवस्थापनको सारा जिम्मा आफूलाई दिनसमेत माग गरे।
उनले भने, ‘म काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षी पनि थिएँ तर मैले टिकट पाइनँ। निर्वाचन भएर नयाँ नेतृत्व आएको पनि अहिले एक महिना भइसक्यो तर काठमाडौंमा फोहोरमैलाको समस्या झनै बढेको। त्यसैले मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठन गरियोस्, म समाधान सहजै गर्छु।’
काठमाडौं महानगरपालिकामा एकमहिनादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन ।