५ आश्विन २०८१, शनिबार 1726939727
Banner

संसद् बैठकमा आज दुई मन्त्रालयसहित तीन निकायगत छलफल हुने

काठमाडौं : विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत संसद् बैठकमा आइतबार दुई मन्त्रालयसहित तीन निकायगत छलफल हुने भएको छ। 

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न विषयमा छलफल हुने कार्यसूची छ। 

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विनियोजन विधेयक २०७९ अन्तर्गत छलफल हुने दुई मन्त्रालय र तीन निकायको उल्लेखित खर्च कटौतीको छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नेछन्। 

त्यसैगरी सांसद कृष्णभक्त पोखरेलले ‘शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँमा कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।