२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:10 am
अर्थ

रसुवाका बाढीपीडितलाई कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको २५ लाख सहयोग

सूचना प्रेस २०८३ भदौ १६ मंगलबार ००:००, २०:४५ बजे २ मिनेट पढाइ

काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिति घिमिरेसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

बाढी तथा पहिरोका कारण घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनर्स्थापनाको आवश्यकता देखिएको छ ।

विपद्को यस कठिन घडीमा पीडित नागरिकको दु:खमा साथ दिन तथा सरकारको राहत र उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो ।

चेक हस्तान्तरणका क्रममा कन्टिनेन्टल ट्रेडिङका प्रतिनिधिहरूले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।


साथै, उनीहरूले विपद्‌मा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्राकृतिक विपद्को समयमा पीडित परिवारको दु:खमा साथ दिनु तथा राहत र उद्धार कार्यमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको कम्पनीले जनाएको छ । ‘विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय तथा सामाजिक दायित्व हो। राज्य र समाजलाई आवश्यक परेको समयमा निजी क्षेत्रले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले आफ्नो सहयोगले विपद्‌बाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आगामी दिनमा पनि आवश्यकता तथा आफ्नो क्षमता र सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।