२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 11:52 am
खेलकुद

श्रीलंकाली ब्याटर थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

सूचना प्रेस २०८३ कार्तिक २७ शुक्रबार ००:००, ११:३७ बजे २ मिनेट पढाइ

काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन् । उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन् ।

दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ । उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन् । बलिङतर्फ उनले ५० टी–२० खेलमा २६ विकेट लिएका छन् ।

दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन् । त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन् ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

‘थनुका दबारेसँग अनुभव छ । उनी आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन् । उनको आगमनले हाम्रो शीर्ष क्रमलाई थप बलियो बनाउने र टोलीको ब्याटिङमा गहिराइ थप्ने विश्वास लिएका छौँ,’ खड्काले भने ।

टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिमबाट एनपीएल खेल्न उत्साहित रहेको बताए । ‘सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छु । एनपीएल खेल्न नेपाल आउन र टोलीका लागि योगदान दिन उत्साहित छु । प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन सहयोग गर्ने लक्ष्य छ’ दबारेले भने ।