२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 3:37 pm
राजनीति

रवि लामिछाने दम्पतीको आगमनलाई लक्षित गर्दै जनकपुरधामको छठ घाटमा सुरक्षा कडा

सूचना प्रेस २०८३ कार्तिक २८ शनिबार ००:००, १५:३३ बजे २ मिनेट पढाइ

जनकपुर । छठ पर्वको तयारीका निम्ति जनकपुरधामका पोखरी तथा जलाशयहरुको तयारी पूरा भएको छ । घाट सफा गर्नेदेखि टेन्ट, बत्ती जडान लगायतका कार्यहरु सम्पन्न भइसहेको छ । विशिष्ठ व्यत्तिहरुको आगमनलाई मध्येनजर गर्दै जनकपुरधामका घाटसहित नगरभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामको गंगासागर पोखरीमा छठ मनाउने भएका कारण यस घाटको वरिपरि विशेष सुरक्षा नियमहरु अपनाइएको छ । गंगासागर छठ पूजा समितिले शनिबार पत्रकारसम्मेलन गर्दै सुरक्षा नियमहरुबारे जानकारी गराएको छ ।

समितिका अध्यक्ष सतिशकुमार लाल दासका अनुसार विशिष्ट अतिथिहरूको आगमनलाई मध्येनजर गर्दै गंगा सागर घाटको वरिपरि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा समितिका स्वयंसेवक परिचालन गरी विशेष सुरक्षा र भीड व्यवस्थापनमा कडाइ गरिएको छ ।

विगतका वर्षहरुमा एकदिन अगावै घाटमा पूजा सामग्री राखिने होड हुन्थ्यो । तर यस वर्ष भने छठ घाटमा पूजाका सामग्री व्यवस्थापन सहज बनाउन कात्तिक २९ गते बिहान ७ बजेदेखि मात्र डाला तथा सुपली घाटमा ल्याउन समितिले व्रतालुहरूलाई आग्रह गरेको छ ।

त्यस्तै, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार छठ पर्व अवधिभर गंगासागर आसपासका क्षेत्रमा माछा, मासु तथा मदिराजन्य पसल बन्द गर्न निर्देशन समेत दिइएको छ ।

समिति अध्यक्ष दासका अनुसार घाट परिसरमा डिजे बजाउन, मादक पदार्थ सेवन गरी होहल्ला गर्न तथा पटाका पड्काउन समेत प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, छठ पर्वका मुख्य दिनमा गंगासागर पोखरीका चारैतर्फका डिल तथा पूजा परिसरभित्र सवारीसाधन प्रवेश र पार्किङ गर्न रोक लगाइनुका साथै पोखरीको चारैतर्फ ठेला, फुटपाथ पसल तथा अस्थायी व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ ।

सवारी आवागमन व्यवस्थित गर्न कात्तिक २९ गते दिउँसो ४ बजेदेखि ३० गते बिहानको अर्घ्य सम्पन्न नहुँदासम्म विशेष ट्राफिक व्यवस्थापन समेत लागू गरिएको अध्यक्ष दासले जानकारी दिए ।

छठ पर्व मनाउन रास्वपा सभापति लामिछाने दम्पती आजै जनकपुरधाम आउन लागेका छन् । उनको आगमनका कारण जनकपुर नगरभरि भारी मात्रामा प्रहरी प्रशासन तैनाथ गरिएको छ ।