२ जेष्ठ २०८३, शनिबार 1778915055
Banner

आचारसंहिता उल्लंघन गर्ने जनप्रतिनिधिलाई निर्वाचन आयोगले कारबाही गर्ने

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले उम्मेदवारहरुको पक्षमा प्रचार प्रसार गरेको भन्दै ध्यानाकर्षण जनाएको छ। आयोगले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै ध्यानाकर्षण जनाएको हो।

निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न मिल्दैन।

आफू निर्वाचित भएका स्थानीय तह वाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहने गरी संलग्न हुन सकिने व्यवस्था छ। तर, कतिपय स्थानीय तहका कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको पाइएको छ।

आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारबाही गर्न स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिएको छ।