३ मंसिर २०८१, सोमबार 1731939615
Banner

एमालेका मन्त्री छान्न बालकोटमा नेताहरुबीच छलफल

काठमाडौं-नेकपा एमालेले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै सानो आकारको मन्त्री मण्डल आजै गठन गर्ने सहमति अनुसार पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुबारे छलफल गर्न अध्यक्ष ओलीले नेताहरुलाई बालकोट बोलाउनुभएको हो । छलफलका लागि महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरु बालकोट पुग्नुभएको छ ।

एमालेबाट सरकारमा जाने करिब ६ जनाको नाम तयार भए पनि त्यसमा अध्यक्ष ओलीले अन्तिम निर्णय गर्न बाँकी रहेको बताइएको छ ।

यसैबीच सात दलीय सत्ता गठबन्धनमा पावर शेयरिङबारे छलफल गर्न ११ बजे बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा दलहरुबीच शक्ति बाँडफाँडबारे छलफल गरेर कम्तीमा सात जनाको मन्त्रीमण्डल आजै गठन गर्ने तयारी गरिएको छ ।