३ मंसिर २०८१, सोमबार 1731954098
Banner

पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने, ओलीको नेतृत्वमा संयोजक समिति बनाउने गठबन्धनको निर्णय

काठमाडौं-सातदलीय गठवन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय गरेको छ ।

मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा हरेक दलको प्रतिनिधिसहितको समिति बनाइने उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी हुनुहुन्थ्यो ।

उहाँले भन्नुभयो, ‘हामीले केका लागि सरकार बनायौँ भनेर देखाउका लागि साझा कार्यक्रम ल्याउन लागेका छौँ । त्यसका लागि सबै दलबाट एकरएक जना प्रतिनिधि रहन्छन् । त्यसले साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्छ ।’

उहाँले राप्रपा पनि सरकारमा जानका लागि लचिलो रहेको बताउनुभयो । न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने रविले जिकिर गर्नुभयो ।

मन्त्रिपरिषद् विस्तारका लागि व्यापक छलफल भएपनि अहिल्यै टुंगो नलागेको उहाँको भनाइ छ । गठबन्धन दलहरूबीच प्रदेशसम्म प्याकेजमै सहमति हुने पनि उहाँले सुनाउनुभयो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भएको लामिछानेले बताउनुभयो । क्षमताका आधारमा मन्त्री नियुक्त गर्ने समझदारी भएको उहाँको भनाइ छ ।