काठमाडौँ । महिला शिक्षकहरूले आफूहरूले सञ्चालन विद्यालय अब्बल भएको दाबी गरेका छन् । शिक्षामा महिलाको नेतृत्व र भूमिका सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनीहरूले यस्तो दाबी गरेका हुन् ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा खबर एजुकेशन अनलाइनको आयोजना र संस्कृति इन्टरनेशनल स्कुलको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम क्रममा सरकारी तथा निजी क्षेत्रका शिक्षक तथा अन्य कर्मचारीहरू उपस्थित थिए ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विज्ञान प्रविधि सचिव, खुला विश्वविद्यालयकी उपकुलपति, शिक्षाविद्, शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका र निरन्तर शिक्षा क्षेत्रमा लागेका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा सल्लाहकार रेसु अर्याल ढुंगानाले शिक्षा ऐन नआएका कारण विद्यालय नियमन गर्न स्थानीय तहलाई अफ्ठेरो भएको बताइन् । सार्वजनिक विद्यालयका शिक्षकलाई तीन तीन महिनामा तलब दिने व्यवस्था राम्रो नभएको र यसका लागि स्थनीय तह र संघिय सरकारविच सहकार्य हुन नसक्दा शिक्षक मारमा परेको उनको भनाइ छ । साथै शिक्षकहरुलाई जिवन जिउन पुग्नेगरी सेवा सुविधा दिनुपर्नेमा उनको जोड थियो ।
अर्यालले निजी विद्यालय र सार्वजनिक विद्यालय विचमा दुरी रहेको,विभेद हुने गरेको बताउँदै यस्तै अवस्था रहिरहे विद्यार्थी स्वदेशमा नबस्ने र विदेश पलायन अझै बढ्न सक्ने धारणा राखिन्। यसका लागि निजी विद्यालयले पनि समाजका लागि र सार्वजनिक विद्यालयका लागि साझेदारीमा काम गर्न आवश्यक रहेको उनको भनाइ थियो।
नेपाली कंग्रेसकी प्रतिनिधिसभा सदस्य माननीय प्रतिमा गौतमले शिक्षा क्षेत्रमा महिलाको नेतृत्व गर्ने संख्या धेरै हुनु राम्रो रहेको बताइन। शिक्षा ऐन बनाएर शैक्षिक गुणस्तरमा काम गर्न आवश्यक रहेको बताउँदै शिक्षा ऐनका लागि सबैले दबाब दिन आग्रह गरिन।
शिक्षा मन्त्रालयकी विज्ञान प्रविधि सचिव प्रमिला बज्राचार्यले प्रारम्भिक बालविकास वा विद्यालय तह देखिनै उच्च तहसम्म महिलाहरुको नेतृत्व हुन आवश्यक रहेको बताउँदै त्यो सम्भव भए पनि महिला आउन नचाहेको बताइन। साथै अरु क्षेत्र संगै प्राविधिक क्षेत्रमा पनि महिलाहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइन। बज्राचार्यले स्टिम शिक्षालाई सबै विद्यालयमा अनिवार्य गर्न लागेको समेत जानकारी दिइन।
खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शिलु मानन्धर बज्राचार्यले पछिल्लो सुचाङ्कमा महिलाहरुको नेतृत्व आउन थालेको बताउँदै नेपालमा पनि विकसित देशहरुको हाराहारीमा महिलाहरुको सहभागिता रहेको बताइन। उनले उच्च शिक्षामा ५३ प्रतिशत महिलाको सहभागिता रहेको र साच्चि कै महिलाको प्रतिनिधित्व गरेको छ कि छैन हेर्न आवश्यक रहेको बताइन।
मानन्धर बज्राचार्यले शिक्षामा महिला नेतृत्व आउनका लागि सक्षम हुँदा हुँदै महिलालाई पछाडी पारिएको हो भने संघर्ष गरेर भएपनि अधिकारका लागि लड्नुपर्ने बताइन। साथै महिलाले आफुले आफुलाई चिन्नु पर्ने, क्षमता के हो चिन्न आवश्यक रहेको र त्यसै अनुसार नेतृत्वमा रहेर क्षमता प्रस्तुत गरेर उदाहरण बनेर देखाउन सबै महिलालाइ आग्रह गरिन।
महिलाहरु नेतृत्वमा पुगेपनि धेरै संघर्ष गर्नुपर्ने बाध्यता रहेको नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले बताइन। उनले आफु ४० सालदेखि शिक्षण पेशामा आवद्ध रहेर यहाँसम्म आएको बताउँदै हरेक क्षेत्रमा महिला नेतृत्व आउनुपर्नेमा जोड् दिइन। आफु अध्यक्ष भइसकेपछि शिक्षक संघठनहरुमा धेरै महिलाहरु नेतृत्वमा आउनका लागि तयार भएको उनको भनाइ थियो। उनले भनिन ‘हरेक क्षेत्रमा नेतृत्व लिन महिला तयार हुनुपर्छ। आफु सक्षम भएर पनि अधिकार दिएनन भने खोसेर भएपनि लिनुपर्छ।’
विद्यालयहरुको हरेक कुरामा पुनः निर्माण गर्न आवश्यक रहेको र त्यसलाई स्थानीय तहले नियमन, अनुगमन गर्न आवश्यक रहेको बालविशेषज्ञ सानु अमात्यको भनाइ थियो। प्याब्सन उपाध्यक्ष दीपिका थापा रिमालले परीवर्तनका लागि महिला नै अग्रसर हुन आग्रह गर्दै प्यब्सनमा महिला विभाग आफुले समालेको र महिला सम्बन्धी कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन।
संस्कृति इन्टरनेशनल स्कुलकी फाउण्डर डाइरेक्टर दीप्ति क्षेत्री आचार्य महिलाहरुलाई प्राविधिक शिक्षामा केन्द्रित गर्नुपर्ने र महिला र प्रविधिलाई महत्वका साथ अगाडि बढाउनु पर्नेमा जोड् दिइन। इम्पेरीयल वल्र्ड स्कुलकी डाइरेक्टर जुनिता शाहि कार्कीले प्राइभेट र पब्लीक स्कुलको साझेदारी गर्न सकियो भने मात्रै शैक्षिक गुणस्तर ल्याउन सकिने बताउँदै त्यसै अनुरुप महिला नेतृत्वलाई पनि अगाडी बढाउन आवश्यक रहेको भनाई राखिन्।
आफुले अक्षरा स्कुलमा संस्कार सहितको शिक्षा अभियानलाई प्रथमिकताका साथ पढाइरहेको र त्यसले बालबालिकामा प्रभाव परिरहेको बताउँदै महिला नेतृत्वले कुनै न कुनै एउटा माइनसेटमा काम गर्न अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले आग्रह गरिन् ।
महिला शिक्षा समाजकी केन्द्रीय अध्यक्ष डा.जानुका नेपालले विद्यालय क्षेत्रमा महिला नेतृत्व विकास कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिन आवश्यक रहेको बताइन। उनले भनिन् ‘निजी विद्यालयका महिला नेतृत्वहरु हरेक कुरामा अगाडि छन् तर सार्वजनिक विद्यालयमा महिला नेतृत्वको अभाव छ। यसलाई कसरी विकास गर्न सकिन्छ त्यसमा ध्यन दिनु पर्यो।’ महिलाले नेतृत्व गरेका सबै विद्यालय अब्बल रहेको बताउँदै महिलाले इमान्दार र लगनशिल भएर काम गरेकै कारण त्यो सम्भव भएको उनको दाबी छ ।
काठमाडौं विश्वविदालय स्कुल अफ एजुकेशनकी डा. पार्वती ढुंगाना, काठमाडौं वल्र्ड स्कुलकी समा क्षेत्री र सुदेशा स्कुलकी फाउण्डर प्रिन्सिपल बिरंगना महर्जनले महिलाहरुलाई नेतृत्वमा ल्याउन नेतृत्व गरीरहेका महिलाहरुले सहयोग गर्नुपर्ने र आफु रोल मोडल भएर देखाउन आवश्यक रहेको बताइन्।
डि.भि एजुकेशन (ट्रिटन कलेज)की सिइओओ ऋतु न्यौपानेले डिभि एजुकेशनले महिलालाई नै नेतृत्वमा राख्ने व्यवस्था गरेको उदाहरण दिँदै शिक्षासँगै महिलाले म गर्न सक्छु भन्ने भावनाका साथ अगाडी बढ्नुपर्नेमा जोड दिइन। प्रविधि मैत्री शिक्षक समाज ललितपुरकी उपाध्यक्ष तथ सामाजिक विषयकी शिक्षक मनिता श्रेष्ठले महिलाले गर्न सक्दैनन, समय व्यवस्थापन गर्दैनन् जस्ता दृष्टिोणले हेरिएका कारण महिला नेतृत्वमा आउन नसकेको धारणा राखिन। यसका लागि विद्यालय तहदेखि नै लैंगिक समानताको बारेमा पढाउन आवश्यक रहेको उनको भनाइ थियो।
संस्कृति इन्टरनेशनल स्कुलकी प्रिन्सिपल तिमिला श्रेष्ठले एउटा नारी भएर अर्को नारीलाई उठाउन आवश्यक रहेको धारणा व्यक्त गरिन् । त्यसैगरी महिलालाई दबाएर होइन उठाएर नेतृत्वमा पु¥याउनुपर्ने फेरील्यण्ड इन्टरनेशनल स्कुलकी सिनियर इञ्चर्ज सुस्मा पाण्डेको भनाइ थियो । नेपाल खुला विश्वविद्यालयकी श्रद्धा कुँवरले विद्यालयले संस्कार र नैतिक शिक्षामा ध्यान दिन आवश्यक रहेको भनाइ राख्दै महिला र पुरुष विचको विभेदबारे विद्यालय तह देखिनै सिकाउनुपर्नेमा जोड दिइन।
स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)की निर्वतमान उपाध्यक्ष गिता रिजालले एकल महिला भएर नेतृत्व समाल्न कठिन रहेको बताउँदै महिलाले महिलालाई सहयोग गर्नुपर्नेमा जोड दिइन। उनले एकल महिला हुँदा सबैले त्यस्तै दृष्टिकोणले हेने गरेको र यसमा महिला संसदले ध्यान दिनुपर्ने बताइन।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शिक्षामा महिलाको नेतृत्व र भूमिका सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलाई सम्मान गरिएको छ। खबर एजुकेशन अनलाइनको आयोजना र संस्कृति इन्टरनेशनल स्कुलको सहयोगमा गरिएको कार्यक्रममा तुलाधरलाई सम्मान गरिएको हो।
२०४० सालदेखि शिक्षक पेशामा लाग्नुभएको तुलाधर नेपाल शिक्षक महासंघको नेतृत्व गरिसकेकी छन् । उनी नेपाल शिक्षक महासंघको पहिलो महिला अध्यक्ष हुन् ।निःस्वार्थी भावना भएकी तुलाधर शिक्षकहरुका माग र मुद्धाका लागि निडर भएर लड्ने महिला नेतृत्व हुन् ।