१० मंसिर २०८१, सोमबार 1732520647
विश्व

मालीको मध्य भागमा भएको आक्रमणमा परी कम्तीमा नौ सर्वसाधारणको मृत्यु

मध्य मालीको एक विमानस्थल क्षेत्रमा सशस्त्र आतङ्कवादी समूह (जीएटी) ले शनिबार बिहान गरेको कार बम आक्रमणमा परी कम्तीमा नौ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ६१ जना घाइते भएका छन् । मोप्टी प्रान्तको सेवरे विमानस्थल क्षेत्रमा रहेको ‘हवाइ शिविर १०२’ लाई लक्षित गरी गरिएको आक्रमणमा ‘महत्वपूर्ण भौतिक क्षति’ भएको मोप्टी प्रान्तको सञ्चार एकाइले जनाएको छ ।

मोप्टी क्षेत्रका गभर्नर कर्णेल मेजर अबास डेम्बेले घटनास्थलमा पुगेर सोमिने डोलो अस्पतालमा घाइतेहरूलाई भेट्नुभएको छ । सशस्त्र बलको सूचना तथा जनसम्पर्क निर्देशनालय (दिर्पा) ले शनिबार ट्विटरमा मालीको सशस्त्र बलले सेवारे शिविर र विमानस्थलवरपर ‘जटिल आक्रमण’ विफल पारेको घोषणा गरेको थियो । उहाँले भन्नुभयो, “पहिलो मिनेटदेखि नै स्थिति नियन्त्रणमा आएको छ । कारबाही जारी छ ।” सेनाको ड्रोन आक्रमणबाट विस्फोटक पदार्थले भरिएका तीन वटा सवारी साधन नष्ट भएको बताइएको छ । सन् २०१२ देखि माली सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा बहुआयामिक सङ्कटमा फसेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर–साम्प्रदायिक हिंसाका कारण पश्चिम अफ्रिकी राष्ट्रमा यो अवधिमा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।