८ मंसिर २०८१, शनिबार 1732378889
समाचार

आज अख्तियारले पशुपतिनाथमा राखिएको जलहरी जाँच्ने

काठमाडौं । अख्तियार दुरुपयोग आयोगको टोली पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न पशुपतिनाथ मन्दिरमा जाने भएको छ ।

अख्तियार स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली अपरान्ह तीन बजे पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी जाँच्न जान लागेको हो । केही समययता पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा विभिन्न आशंका पैदा हुँदै आएका छन् ।

संसदमा समेत यसबारे प्रश्न उठेको थियो । आयोगका एक उच्च अधिकृतका अनुसार उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा जान लागेको हो ।

आयोगको टोलीले जलहरी नापजाँच गर्नेछ । आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न हुनेछन् । उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जानकारी ति अधिकृतले दिए ।

२०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।

घोषणा अनुरुप सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजी परिमाणको सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

Tags :