८ मंसिर २०८१, शनिबार 1732401404
Banner

समलिंगी विवाह दर्ता गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं-सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो।

समलिंगी विवाह दर्ता गर्न नेपालको कानुन बाधक रहेको भन्दै ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो। उहाँहरुले विवाह दर्तासम्बन्धी मुलुकी देवानी संहिता २०७४ मा रहेको व्यवस्था संशोधनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दिनुभएको थियो।

सर्वोच्च अदालतले मुलुकी देवानी संहिता २०७४ को दफा ६९ (१) ले प्रत्येक व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रता दिएको र नेपालको संविधानको धारा १८ (१) ले सबै नागरिकलाई कानुनको दृष्टिमा समान हुने व्यवस्था गरेहेको स्मरण गराएको छ । सर्वोच्चले समलिंगी तेस्रोलिंगी समुदायको विवाह दर्तासम्बन्धी कानूनी व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ पनि माग गरेको छ। करीब १५ वर्षअघि सर्वोच्च अदालतले उमेर पुगेका व्यक्तिहरुसँगै बस्न सक्ने भन्दै समलिंगी विवाह गर्न पाउने फैसला गरेको थियो ।

तर मुलुकी देवानी संहितामा समलिंगी विवाहलाई मान्यता दिइएको छैन। उक्त कानुनमा विवाहको परिभाषामा भनिएको छ, ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ।’ ब्लु डायमण्ड सोसाइटीका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले सर्वोच्चको यो आदेश धेरै राम्रो रहेको र संसारमै यस्ता आदेश निकै कम मात्र आउने बताउनुभयो।

यो आदेशले विवाह गर्न चाहने यौनिक तथा लैङ्गिक अल्पसंंख्यकहरुलाई धेरै राहत भएको पन्तले बताउनुभयो । सर्वोच्चले २०६४ सालमा समलिंगी विवाह गर्न पाउने फैसला गर्दा समलिंगी विवाहले समाजमा पार्ने सामाजिक, साँस्कृतिक आदि असरको बारेमा अध्ययन गरेर सुझाव दिन एउटा समिति गठन गर्न पनि आदेश दिएको थियो । सर्वोच्चको फैसलापछि तत्कालिन स्वास्थ्य सचिवको नेतृत्वमा बनेको समितिले समलिंगी विवाहलाई कानुनी मान्यता दिन उपयुक्त हुने सुझाव दिएको थियो ।