काठमाडौँ । नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयले मंगलबार बर्खास्त गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी हेड्क्वार्टरले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
बुटवल स्थित टेलीकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।
सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ । सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि डिएसपी केसीले बद्निय राखेको उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ–‘सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन ।’