११ कार्तिक २०८१, आइतबार 1730031149
समाचार

वृद्धद्वारा नेत्रहीन सङ्घलाई जग्गादान

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ पाटनका केबी गुरुङले तनहुँ नेत्रहीन सङ्घलाई जग्गादान गर्नुभएको छ । नब्बे वर्षीय गुरुङले करिब २५ लाख मूल्यको ४ आना २ दाम जग्गा उपलब्ध गराएको हो ।

सङ्घलाई एक वर्षअघि नै जग्गादान गर्न चाहे पनि अस्वस्थ्य भएका कारण ढिला भएको उनले बताए । व्यास-५ पाटनका गुरुङ कृषि अधिकृत पदको जागिर छाडेर बागवानी विकासमा लाग्नुभएको छ । ८ वर्षसम्म अधिकृत पदमा काम गर्नुभएका उनले जागिर छाडेर आफ्नै बागवानी कृषि फार्म सञ्चालन गर्नुभएको छ । करिब एक सय रोपनी क्षेत्रफलमा गुरुङले आँप, लिची, सुन्तला, एभोकाडोलगायत फलफूलखेती गर्दै आएको छ । उनी मिर्गौला रोगबाट पीडित छन् ।

जग्गा प्राप्त भएपछि नियमित कार्यालय सञ्चालन र तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको सङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । “तीनवटै सरकार तथा अन्यबाट आर्थिक स्रोत जुटाएर भवन निर्माणको योजना छ”, उनले भने । हाल तनहुँ नेत्रहीन सङ्घमा ७० जना आबद्ध छन् ।