११ कार्तिक २०८१, आइतबार 1730052598
Banner

लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरूमा भारी वर्षा

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरूमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो ।

नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुराको भारतीय सीमा आसपास भारी वर्षा भएको विभागले जनाएको छ ।

रुपन्देहीको लुम्बिनी र कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षासमेत भएको छ । लुम्बिनीमा २४ घण्टाको अवधिमा १४२.६ मिलिमिटर र बेलौरीमा १२६.४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै कञ्चनपुरको सुन्दरपुरमा १०९.२, कपिलवस्तुको तौलिहवामा ८६.८, नवलपुरको दुम्कौलीमा ६४.२ र कैलालीको धनगढी एयरपोर्टमा ५४.६ मिलिमिटर वर्षा मापन भएको छ।

लुम्बिनी र कञ्चनपुरको शान्तिपुर बेलौरी क्षेत्रमा भएको अति भारी वर्षा (हल्का रातो रंगमा)
ती जिल्लाहरुका होचा स्थानमा डुबान हुन सक्ने देखिएकाले आज बिहानसम्मै उच्च सतर्कता अपनाइराख्न जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

महाशाखाले आज बिहान साढे १ बजे सूचना जारी गरी पछिल्लो ३ घण्टा कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षामापन भएको र सो क्षेत्र भई बहने सुहेली, चौधर लगायत साना खहरे खोलाहरुमा एक्कासी बाढीको जोखिम रहेको जनाएको छ ।